उपेन्द्र यादवको नजरमा दलहरू- कांग्रेस अक्षम, एमाले पतनोन्मुख, माओवादी ढुलमुले – Nepalboli

उपेन्द्र यादवको नजरमा दलहरू- कांग्रेस अक्षम, एमाले पतनोन्मुख, माओवादी ढुलमुले

   २०८१ जेष्ठ २९, मंगलवार  

जनकपुरमा जारी पार्टीको महाधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनितीक प्रतिवेदन मंगलवार बन्दसत्रवाट पारित भएको छ । सोमवार देखि सुरु भएको जसपाको महाधिवेशन बुधवार सकिदैछ । लामो अन्तराल पछि भईरहेको जसपाको महाधिवेशनमा देशभरका नेताहरु तथा कार्यकर्ताहरु सहभागी छन ।

मंगलवार बन्दसत्रमा यादवले ३१ पेज लामो आफनो राजनितीक प्रतिवेदनमा विभिन्न राजनीतिक दलको आलोचनामा खर्चिएका छन् । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र लोसपाको बारेमा टिप्पणी गरेका छन् । राजनीतिक दस्तावेजको मस्यौदामा तीन वटै प्रमुख दललाई भ्रष्टाचारी, कमिसनखोरीको आरोप लगाइएको छ ।

वैचारिक दृष्टिकोणले नेपाली कांग्रेस ‘उदार लोकतान्त्रिक’ धारको नेतृत्व गर्ने पार्टी भए पनि व्यवहारमा त्यस्तो नदेखिएको जसपा नेपालका अध्यक्ष यादवको दाबी छ । कांग्रेस विश्वव्यापीकरण, निजीकरण, खुला बजारमा आधारित अर्थव्यवस्था र आर्थिक उदारीकरणको पक्षमा उभिएको र अर्थतन्त्रलाई कुनै किसिमको नियन्त्रण हुनु हुँदैन भन्ने मान्यता राखेको दल रहेको उपेन्द्रको राजनीतिक दस्तावेजमा उल्लेख छ ।

दस्तावेजमा उल्लेख भए अनुसार कांग्रेससँग जसपा नेपालको मिल्ने विषय भनेको नागरिक स्वतन्त्रता र बहुदलीय व्यवस्थामात्र हो ।

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थिलथिलो भएको यादवको भनाइ छ ।

एमाले – सन् १९९० को दशकमा सोभियत सङ्घको पतनपछि एमालेले जनताको बहुदलीय जनवादमार्फत् परम्परागत संसदीय प्रणालीको बाटो समातेको उल्लेख गर्दै अध्यक्ष यादवले एमाले एकैसाथ संसदवादी र कम्युनिस्ट बन्ने अन्तरविरोधपूर्ण बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् ।

एकातिर एमालेले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति शब्दनिष्ठा व्यक्त गर्न नछाडेको र अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे व्यापक अन्योल, अविश्वास र हिनताबोध रहेको उनले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले राजनीतिक दस्तावेजमा भनेका छन्, ‘एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शङ्का नगर्न अनुनय–विनय गर्दछन् भने अर्कोतिर कम्युनिस्ट–कम्युनिस्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनि छोडेका छैनन् । एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने बित्तिकै गौरव पनि गर्दछन् ।’

दार्शनिक, वैचारिक रूपमा अन्योलग्रस्त र नैतिक रूपमा स्खलित भइसकेको पार्टी सङ्गठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन नसक्ने उल्लेख गर्दै उनले आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख रहेको बताएका छन् ।

कम्युनिस्ट पार्टीका ठुल्ठुला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढङ्गले उदाङ्गिदै गएको टिप्पणी गर्दै अध्यक्ष यादवले आर्थिक क्षेत्रमा उदारवाद, नवउदारवादी नीतिलाई एमालेले निरन्तरता दिइरहेको दाबी गरेका छन् ।

सम्पत्ति शुद्धीकरण आयोगलाई निष्क्रिय बनाउने तथा ठुला आयोजनाहरू विनाटेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसँगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका नरहेको उल्लेख गर्दै उनले निर्दलीय व्यवस्थाका पञ्चहरू भन्दा पनि तल्लोस्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन नेपाली कम्युनिस्टहरूले गरिरहेको उल्लेख गरेका छन् ।

माओवादी केन्द्र- माओवादी केन्द्रले १० वर्षे जनयुद्धमार्फत् प्रारम्भिककालको जनवादी गणतन्त्र नेपाल स्थापना गर्ने उद्देश्यलाई स्थगन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा महत्त्वपूर्ण योगदान गरेको जसपा नेपालले स्वीकार गरेको छ ।

माओवादीले संसदीय निर्वाचनमा आफ्नो स्थिति अत्यन्त कमजोर हुने देखेर बाध्य भइ एमालेसँग मिलेर २०७४ सालको चुनाव लडेको उल्लेख गर्दै अध्यक्ष यादवले सत्ता स्वार्थ र नेतृत्वको बिचको आन्तरिक द्वन्द्वका कारण त्यो एकता टिक्न नसकेको टिप्पणी गरेका छन् ।

माओेवादीले आफूलाई सर्वहारा वर्गको पार्टी भने पनि वास्तवमा पार्टीको आशा र विश्वास नदेखिएको उनको टिप्पणी छ ।

माओेवादी चिन्तन र व्यवहारमा मार्क्सवादी–लेनिनवादी, माओवादी नभइ ढुलमुले, अवसरवादी चरित्र हाबी भएको उनको भनाइ छ । माओवादी पार्टीका नेता, कार्यकर्ता ठुलाठुला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको टिप्पणी गर्दै उनले माओवादी केन्द्र विकृति र विसङ्गतिको केन्द्रको रूपमा स्थापित हुँदै गइरहेको बताएका छन् ।

राप्रपा-  राप्रपाले आफूलाई राजावादी, हिन्दु राष्ट्रवादी पार्टी भन्न रुचाउने गरेको उल्लेख गर्दै अध्यक्ष यादवले पुराना शासकवर्ग र परिवार, राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ता पञ्चहरूको राजनीतिक रक्षाकवचका रूपमा यो पार्टीको उदय भएको टिप्पणी गरेका छन् ।

यो पार्टीले पछिल्लो चुनावमा केही स्थान हासिल पनि गरेको छ । महेन्द्रीय राष्ट्रवादको पैरवी गर्न राप्रपा धारले बेलाबेलामा कांग्रेस कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गरेको अध्यक्ष यादवले टिप्पणी गरेका छन् ।

लोसपा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल समावेशीता, राष्ट्रिय पहिचान र अधिकारकारको पक्षधर लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै अध्यक्ष यादवले यो पार्टीसँग आफ्ना केही एजेण्डा मिल्ने गरेको बताएका छन् ।

तर, यो पार्टी देश र जनताको हितमा आफ्नो निर्णय आफैँ लिन नसक्ने उनको भनाइ छ । लोसपा नेपालले महत्त्वपूर्ण निर्णयकाबारे अर्काको मुख ताक्ने गरे पनि यो पार्टीसँग सहकार्य गर्न सकिने अध्यक्ष यादवले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै