मध्य र पश्चिम तराईमा अझै तीन दिनसम्म तातो हावा चल्ने

मुलुकको मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने भएको छ । यसले गर्दा पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मी जारी रहनेछ । यसकारण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ ।
महाशाखाका अनुसार मधेश र बागमती प्रदेशको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा बढी गर्मी छ । केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पनि मापन गरिएको छ ।
कोशी प्रदेशमा भने बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।
बाढी पूर्वानुमान महाशाखाले त भोलिदेखि कोशी प्रदेशका नदीहरूमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ ।