भित्रियो यस वर्षको मनसुन
यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका भूभागहरूमा मनसुनको प्रभाव छ। मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशी प्रदेशको पूर्वी भूभागहरुमा मनसुनको प्रभाव देखिएको हो। हामीले तीन दिन अवलोकन गर्दा क्राइटेरिया पूरा भएपछि मनसुन आएको घोषणा गरेका हौं,ु उनले भने।
तर कोशी प्रदेशको पनि सम्पूर्ण भूभागहरूमा मनसुनले कभर नगरेको उनले बताए । अहिले सुदूरपूर्वी भूभागहरू मनसुनको प्रभाव छ, उनले भने। सामान्यतया नेपालमा मनसुन भित्रने दिन जुन १३ मानिन्छ। यसपालि केही चाँडो मनसुन भित्रने भनिएको थियो।
पूर्वी भूभागहरूबाट मनसुन भित्रिएपनि पश्चिमी भूभागमा अत्यधिक गर्मी छ। काठमाडौंमै आइतबार र सोमबार अत्यधिक गर्मी छ। पश्चिम तराईका भूभागहरूमा तातो हावा नै चलेको छ। पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तातो हावा चल्ने सम्भावना रहेको मौसमविद अधिकारीले बताए।
पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन कम्तिमा पाँच दिन लाग्छ। तर पश्चिमी भूभागहरूमा अहिलेको मौसम हेर्दा मनसुन देशभर फैलन केही बढी समय लाग्न सक्नेछ।
मनसुन अहिले विस्तारै पूर्वबाट पश्चिमी भूभागहरूमा बढ्दै गरेको मौसमविद अधिकारीले बताए। यसपालि मनसुनको अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन मौसम विज्ञान विभागले गरेको छ।
अघिल्लो वर्ष जेठ १८ देखि असोज १३ गतेसम्मको अवधिमा १ हजार ३०३.० मिलिमिटर वर्षा भएको थियो। चार महिनाको अवधिमा १ हजार ४७२ मिलिमिटर औसत वर्षा हुनुपर्नेमा सरदरभन्दा ११.५ प्रतिशत कम मिलिमिटर वर्षा भएको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनजन्य विपदबाट १८ लाख जना नागरिक प्रभावित हुने आकलन गरेको छ। प्राधिकरणले ४ लाख १२ हजार घरधुरी कुनै न कुनै हिसाबले प्रभावित हुन सक्ने अनुमान गरेको छ।