आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने- गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए । विराटनगर विमानस्थलमा आज पत्रकारहरुका जिज्ञासामा मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले लगाएका आरोपबारे जवाफ दिनुपर्ने ठाउँमा दिने बताए ।
मन्त्री लामिछानेले कांग्रेस नेताहरुलाई लक्षित गरी रातो पासपोर्ट दुरुपयोग, देशका सूचना चुहाएको, टीकापुरको सार्वजनिक जग्गा हिनामिना तथा वाइडबडी र नक्कली भुटानी शरणार्थी प्रकरणका कुरा गरेका थिए । त्यसमा आपत्ती जनाउँदै कांग्रेसले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको थियो ।
विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुले कांग्रेसले जवाफ मागिरहेको भन्दै गृहमन्त्री लामिछानेको प्रतिक्रिया मागेका थिए । त्यसमा मन्त्री लामिछानेले भने, ‘जवाफ दिनुपर्छ भनेर प्रतिपक्षले भनेको थाहा भएन । जवाफ दिनुपर्ने ठाउँमा दिँदै आएको हो, दिनुपर्ने भए दिउँला ।’
आफूले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा कसैको नाम नलिएको बरु सञ्चार माध्यममा आएका कुराहरुमात्र गरेको उनले बताए ।