भारत सरकारको २.७५१ करोड आर्थिक सहयोगमा नवलपरासीमा विद्यालय भवन निर्माण सम्पन्न
भारत सरकारको नेपाली २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्धघाटन गरिएको छ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण गरिएको विद्यालय भवनको उद्धघाटन प्रतिनिधिसभा सांसद डा शशांक कोइराला, जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) का प्रमुख श्री भगौती यादव, बुलिङटार गाउँपालिकाका अध्यक्ष श्री दिपेन्द्र सुनारी तथा काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव डा साहिल कुमारले संयुक्त रुपमा गरेका छन ।
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री त्रिभुवन माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै कक्षाकोठा, परीक्षा, प्रधानाध्यापक, कर्मचारी र प्रशासनका लागि कोठा, जीवविज्ञान, वनस्पति विज्ञान, भौतिक विज्ञान र रसायन विज्ञानका लागि आवश्यक प्रयोगशाला, पुस्तकालय, कम्प्युटर, छात्र र छात्राका लागि छुट्टै शौचालयसहितको विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, नवलपरासी (पश्चिम) मार्फत गरिएको थियो ।
कार्यक्रममा बोल्दै माननीय सांसद, जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख, बुलिङटार गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये नवलपरासी (पूर्व) जिल्लाका ३ वटा परियोजनासहित गण्डकी प्रदेशमा ५९ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये नवलपरासी (पूर्व) जिल्लालाई प्रदान गरिएको ९ वटा एम्बुलेन्स र १० वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।
