मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ- पूर्वराष्ट्रपति डा यादव
पूर्व राष्ट्रपति डा रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरूको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । राजनीतिक व्यवस्था परिवर्तन भएपनि मुलुकमा आर्थिक अवस्थामा सुधार नभएर जनतामा निराशा छाएको बताउँदै उहाँले भन्नुभयो, “मुलुकमा सुशासन र पारदर्शिता कायम भयो भने विकासको कामले गति लिन्छ, त्यसमा राजनीतिक दलका नेतृत्वकर्ता र शासन सञ्चालकले ध्यान दिनुपर्छ ।”
“पहिलेका नेताहरूको बोली र व्यवहारमा जनताले विश्वास गर्थे, अहिलेका नेतामा विश्वास गर्न सकेका छैनन्, त्यसलाई व्यवहारबाटै काम गरेर नेताहरूले जनताको मन जित्ने काम गर्नुपर्छ” डा। यादवले थप्नुभयो, “बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताको बोली बिक्थ्यो । कारण, उहाँहरूले बोलेको काम पूरा गर्नुहुन्थ्यो, अहिलेका नेताले बोल्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने समस्या छ, त्यही भएर जनताले विश्वास गर्न सकिरहेका छैनन् ।”
मुलुकको आर्थिक विकास छिटो हुन नसके पनि देश सही दिशामा रहेको उहाँले प्रष्ट पार्नुभयो । “देश सकारात्मक दिशामा छ, विकास हुन केही समय लाग्छ । रोम लगायतका अन्य देश पनि एकै दिनमा बनेका होइनन्, हाम्रो राजनीतिक व्यवस्थामा ठुलो उपलब्धि भएको छ, आर्थिक नीति बनाएर देशको विकास गर्न दलका नेताहरू गम्भीर हुनैपर्छ ।”
नेताहरूको चरित्र र व्यवहारमा अझै प्रश्न उठ्ने गरेको चर्चा गर्नुहुँदै डा। यादवले भन्नुभयो, “मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ, तर नेताहरूको व्यवहार र चरित्र त्यस्तो भयो कि भएन रु प्रश्न उठ्ने गरेको छ । मिडियामा हस्तक्षेप गर्ने सिलसिला अझै जारी छ । अहिले नेपाली जनता सचेत भइसकेको छ, ठगेर ठगिने अवस्था छैन अब ।”
“२०६२–७२ सम्म संविधान बनाउनै लाग्यो । अहिले तीन तहको सरकार छ । म अहिले ८२ वर्षमा छु, मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भएको उतारचढावको साक्षी पनि हुँ” डा यादवले थप्नुभयो, “मुलुकको विकासका लागि सबैको साझा प्रयास चाहिन्छ, सबैभन्दा बढी भूमिका दलका नेतृत्वहरूको हुन्छ ।”
एक अर्को प्रसङ्गमा पूर्व राष्ट्रपति डा यादवले नेपालको चुरे क्षेत्रको दोहनले तराई– मधेसमा समस्या बढेको बताउनुभयो । त्यसको असर सिङ्गो राष्ट्रमा परिरहेको उहाँको भनाइ छ । “चुरे क्षेत्रमा रहेका वन जङ्गल मासिएको छ, त्यहाँबाट निस्केका नदी नालाका ढुङ्गा, बालुवा, गिट्टीको अनियन्त्रित दोहन भइरहेको छ, यसले दूरगामी असर मुलुकलाई पार्ने देखिन्छ । सरकारले यसको संरक्षणमा ध्यान दिनुपर्छ” उहाँले सुझाव दिनुभयो ।
चुरे नष्ट भयो भने पुनः बनाउन सकिँदैन । यसको संरक्षणमै सबै लाग्नुपर्छ उहाँले थप्नुभयो, “चुरे क्षेत्र दोहन भएकै कारण तराईमा पानीको मूल सुकेको छ । अनावश्यक सित लहर चलेर मानिसको ज्यान गइरहेको छ । तराईमा समस्या बढ्दैगएको छ ।”
देशमा सडक सञ्जाल र सूचना प्रविधिमा राम्रो विकास भएको उहाँले बताउनुभयो । संविधान जारी भएपछि समावेशी व्यवस्था, धर्म निरपेक्षता, मौलिक हकजस्ता व्यवस्थाहरू सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, “नयाँ संविधानअनुरूप काम गर्न सकेमा मुलुक बन्छ, संविधान जारी भएको नौ वर्ष बित्दासमेत कानुनहरू निर्माण नहुँदा कार्यान्वयनमा समस्या छ ।”