आज विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव – Nepalboli

आज विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

   २०८१ जेष्ठ २३, बुधबार  

अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।

उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १० बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए । वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।

पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ । सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै