बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम सुरु
बुटवलमा गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रम सुरु भएको छ । महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम अगाडि सारेको हो । कार्यक्रमको सोमबार बुटवल वडा नम्बर ६ बाट शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले महिलालाई सीप र रोजगारसँग जोडेर सबल बनाउनका लागि कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहरको नारा लिएको बुटवलले घरमै बस्ने गृहिणी महिलालाई स्वरोजगारी बनाउन यो कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो। प्रमुख पाण्डेयले महिलाहरुलाई आर्यआर्जनसँग जोड्न सिप नै सबैभन्दा ठूलो माध्यम हो भन्ने अभियान चलाएर बुटवललाई एउटा आर्थिक आर्यआर्जनको उर्जाशिल क्षेत्रको रुपमा रुपान्तरण गर्न चाहेको बताउनुभयो ।
गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७९ अनुसार यो तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेका सामग्री बिक्रीका लागि कोशेली घर निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले स्थानीय स्तरमा महिलाहरुमा उत्साह बढेको र यसले बुटवललाई सीप र उत्पादनका क्षेत्रमा अगाडि लैजाने बताउनुभयो ।
बुटवलमा ७० जना गृहिणी महिलाहरुका लागि चुरा, पोते, टिका बनाउने ४५ दिने तालिम, १०० जना महिलाहरुका लागि १५ दिने गुन्द्रुक, मस्यौरा बनाउने तालिम, १०० जना महिलाका लागि १ महिने दुना टपरी बनाउने तालिम, ६० जना महिलाका लागि विभिन्न जातजातिको भेषभूषा, ड्रेस तयार गर्ने २ महिने तालिम दिने योजना रहेको छ ।
यस्तै ५० जना महिलाका लागि बटुवा धुपबत्ति बनाउने १५ दिने तालिम, २० जना महिलाका लागि आईसक्रिम बनाउने १५ दिने तालिम, १० जना महिलाका लागि थाकलबाट झोला, टोपी, चकटी, गमला बनाउने १ महिने तालिम, १०० जना महिलाका लागि झिनीया रोटी, सेलरोटी, बटुकरोटी, कोदोको रोटी, सुख्खा रोटी, तावा रोटी, फापरको रोटी र परौठा बनाउने १५ दिने तालिम गरी जम्मा नगरमा रहेका ५१० जना गृहिणी महिलाले तालिम पाउने छन् ।