माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउँदैनौ – Nepalboli

माग पूरा नभएसम्म मेलम्चीको पानी काठमाडौं पठाउँदैनौ

   २०८१ जेष्ठ २२, मंगलवार  

हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका माग पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौं नपठाउने चेतावनी दिनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु—मेलम्चीवासीका माग पूरा नगरेसम्म पानी नपठाउने बताउनुभएको हो ।

‘‘यो हिउँदरभर नेपाल सरकार, प्रदेश सरकार के हेरेर बस्यो ? हामीले त माग गरिरहेका थियौँ । हामीले बाटोघाटो, वर्षामा कठिन छ भनेर माग गरिरहेका छौँ । हामीलाई प्रदेश र संघ सरकारले किन बेवास्ता गरिरहेको छ । काठमाडौंवासीले रित्तो गाग्री सडकमा आएर देखाउने वित्तिकै पानी पाउनु हुन्छ भने हामीले पनि हाम्रो माग सम्बोधन गरेपछि मात्रै पानी पठाउँछौँ भन्नेकुरा यो फोरमबाट एडिबीका प्रतिनिधि र नेपाल सरकारले आवाज सुनोस् ।’’

उहाँले सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौँ पठाउने अडान लिनुभयो । उहाँले स्थानीहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाउनुभयो ।

उपाध्यक्ष लम्सालले अबको बजेटमा सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयस्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि बताउनुभयो । उहाँले एक वर्षको ६ देखि १० करोड बजेट विपदमा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको बताउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै