जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक दीर्घमा पुगे…. – Nepalboli

जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक दीर्घमा पुगे….

   २०८१ जेष्ठ २१, सोमबार  

काठमाडौँको न्यू होली क्रस विद्यालयका छात्रा इरिका अधिकारीले संसदीय प्रक्रियासम्बन्धी किताबमा पढेका विषय व्यावहारिक रुपमा अवलोकन गरी जान्नेबुझ्ने अवसर पाएपछि खुसी लागेको बताइन् । इरिकासँगै सङ्घीय संसदका बैठक अवलोकन गर्न काँडाघारीस्थित न्यू होली क्रस इङ्लिस सेकेन्डरी स्कूल र नार्गाजुन नगरपालिका-१ स्थित नागार्जुन भ्याली एकेडेमी स्कूलका एक सय १५ जना छात्रछात्रा सङ्घीय संसद् भवन नयाँ बानेश्वर पुगेका थिए ।

अरु विद्यार्थीको प्रतिक्रिया पनि इरिकाको भन्द फरक छैन । उनीहरुले प्रत्यक्षरुपमा संसदीय गतिविधिलाई नियाल्ने अवसर जुटेकामा निकै फलदायी भएको प्रतिक्रिया दिएका छन् ।सङ्घीय संसदका गतिविधिको अवलोकनमा आएका छात्रछात्रा सदनमा उठाइने राष्ट्र, राष्ट्रियता, समसामयिक तथा राजनीति र जनसरोकारका विषयमा प्रत्यक्ष छलफल गरी जानकारी लिन पाएपछि खुसी देखिन्थे । संसद बैठकबाट विद्यार्थी बाहिरिएपछि शिक्षक र विद्यार्थीसँग प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा संवाद गर्नुभएको थियो ।

संवादका क्रममा विद्यार्थीले राखेका जिज्ञासालाई सभापति खतिवडाले अन्तरक्रियात्मक ढङ्गबाट सम्बोधन गर्नुभयो । सभापति खतिवडासँग विद्यार्थीले संसदमा उठेका जनसरोकारका विषय सम्बोधन हुनेमा कति विश्वस्त हुन सकिन्छ रु, आर्थिक वृद्धिदर हासिल गरी सुखी नेपाली समृद्ध नेपालको नारा कहिलेसम्म सफल होला रु, वैदेशिक ऋणको भारले गाँजिदै गर्दा के अर्थतन्त्र उकास्न सकिएला रु लगायत प्रश्न सोधेका थिए । इरिकाले देशमा कसरी कानुन निर्माण हुन्छ, सदनमा सांसदले के-कस्ता कुरा उठाउँनु हँुदो रहेछ भन्ने जानकारी पाएको बताइन् । सदनलगायत औपचारिक मञ्चमा कस्तो पोसाक लगाएर आउने, कसरी प्रस्तुत हुनेलगायत विषयका बारेमा जानकारी पाइएको उनले प्रतिक्रिया दिइन् ।

संसद अवलोकनमा आएका विद्यार्थीले कतिपय विषयमा परेको द्विविधाबारे सांसदसँगको छलफलबाट स्पष्ट भएको प्रतिक्रिया दिए । उनीहरुका अनुसार संसदीय अभ्यास, सभामुखको स्थान, जिम्मेवारी र भूमिका, सभाका प्रक्रिया, मर्यादापालकका जिम्मेवारी, सुरक्षा मापदण्ड, दर्शकदीर्घा रहनेले पुर्याउनुपर्ने ध्यान, गर्नुपर्ने नियमको पालना, अनुशासनलगायत विषयका बारेमा जानकारी प्राप्त भएको छ । अवलोकनमा जाँदा संसद भवन प्रवेश गर्ने बेला साथमा लिएर जान नहुने सामग्री तथा जनप्रतिनिधिले बोलेका विषयमा तत्काल सङ्केत गर्न नपाइने विषयमा विद्यार्थीले प्रत्यक्ष अनुभव लिएका छन् ।

सभापति खतिवडाले मुलुकमा भएका समसामयिक विषयमा सरकारका कुरा जनताका बिचमा र जनताका कुरा सरकारलाई बुझाउने दायित्व सांसद र संसदको भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “संसदले जहिले पनि सरकार र जनताका बिच पुलको काम गर्छ । सरकार पनि संसदबाटै चुनिन्छ । चाहेर पनि साधन र स्रोतको अभावमा सांसद र जनताले भनेका सबै सम्बोधन गर्न सक्ने अवस्था हुदैँन ।” विपन्न, सीमान्तकृत समुदाय, पछिपरेका समुदायका आवाज सरकारमा पुरयाउने काम सांसदले गर्ने र त्यसबारे प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीले सदनमा स्पष्ट गर्ने परम्परा रहेको सभापति खतिवडाले जानकारी दिनुभएको थियो ।

विद्यार्थीलाई कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिँदै सभापति खतिवडाले भन्नुभयो, “कानुन मस्यौदाका रुपमा सदनमा प्रवेश पाएका विधेयकमाथि सभा र विषयगत समितिमा सैद्धान्तिक र दफावार छलफल हुन्छ । त्यसमा सांसदबाट संशोधन हालिन्छ । उक्त विधेयक सहमति र बहुमतका आधारमा पारित हुन्छ । त्यसलाई सभामुखले प्रमाणित गर्नुहुन्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्छ । ऐन भनेको कानुन हो ।”

माध्यमिक विद्यालय तह कक्षा १० अन्तर्गत सामाजिक विषयको पाठ्यक्रममा व्यवस्थापिकाका बारेमा पढाइ हुन्छ । पुस्तकमा चतुर्भजेश्वर माध्यामिक विद्यालय कक्षा १० का विद्यार्थीले सङ्घीय संसद भवनमा प्रतिनिधिसभाको बैठक अवलोकन गरेको प्रसङ्ग उल्लेख छ । सामाजिक शिक्षकको सहयोगमा उनीहरुलाई संसद्को गतिविधि अध्ययन, अवलोकन गराइएको विषय पाठमा उल्लेख गरिएको छ ।

विद्यार्थीसहित बानेश्वर पुग्नुभएका नार्गाजुन भ्याली एकेडेमी स्कूलका प्राचार्य उद्धवनारायण हुमागाईले सामाजिक शिक्षामा सङ्घीय संसदबारे पढाइ हुने भएकाले विद्यार्थीलाई प्रत्यक्षरुपमा अवलोकन गराउन यहाँ ल्याइएको बताउनुभयो । उक्त विद्यालयबाट ३७ जना विद्यार्थी अवलोकनका लागि आएका थिए । सहकारीको रकम अपचलन भएको भन्ने विषयमा संसदीय छानबिन गठनको विषय लिएर लामो समयदेखि अवरुद्ध हुँदै आएको सदन आइतबारदेखि नियमितरुपमा सञ्चालन भएको हो ।

मुलुकको आर्थिक र पूर्वाधार विकाससँग प्रत्यक्ष जोडिएको बजेटसम्बन्धी छलफलको पहिलो दिन सांसदको उपस्थिति न्यून देखिएको प्राचार्य हुमागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “विनियोजित बजेट र उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै देश बनाउने लाग्नुपर्दछ । राजनीतिका मतभेद् भए पनि विकास निर्माणका विषयमा एकजुट हुनुपर्दछ ।” संसद भनेको देशको नीति निर्माण गर्ने र कार्यान्वयनमा ल्याउन बाटो देखाउने ठाउँ भएकाले दलगतभन्दा माथि उठेर बहस पैरवी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“राष्ट्रका वास्तविक कुरामा छलफल हुनुपर्छ । देश बनाउने विषयमा लाग्नुपर्छ,” प्राचार्य हुमागाईले भन्नुभयो । न्यू होली क्रस इङ्लिस सेकेन्डरीका प्राचार्य दिनेशकुमार कार्कीले विद्यार्थीले पहिलो पटक सङ्घीय संसदको बैठक अध्ययन र अवलोकन गरेका बताउनुभयो । उहाँले भन्नुभयो, “माध्यामिक तहमा संसद्बारे पढाइ हुन्छ । विद्यार्थीलाई कक्षाको सैद्धान्तिक ज्ञान मात्र होइन, अवलोकनमार्फत यहाँका विधि र प्रक्रियाबारे जानकारी दिने उद्देश्यले ल्याएका हौँ ।” विधायकले जनसरोकारका विषयलाई कसरी उठान गर्छन् भन्ने विषयमा प्रत्यक्ष जानकारी पाइएको जनाउँदै उहाँले यहाँबाट सिकेका आधारमा विद्यालयमा नमूना संसदको अभ्यास गर्ने जानकारी दिनुभयो ।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबिचको सम्बन्ध, कार्यसम्पादन र शक्ति सन्तुलनको पाटोमा ज्ञान दिलाउन यस्ता अवलोकन निकै व्यावहारिक हुने कार्कीको प्रतिक्रिया छ । नेपाली जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको सङ्घीय संसदको मुख्य जिम्मेवारी कानुन र नीति निर्माण गर्ने रहेको जानकारी पाइएको उहाँको भनाइ छ । विधेयक प्रस्तुत, छलफल तथा बहस, आवश्यकताका आधारमा परिमार्जन गरी पारित गर्ने र राष्ट्रपतिसमक्ष प्रमाणीकरका लागि सिफारिसलगायत कानुनी जिम्मेवारी संसद्को रहेको कार्कीले बताउनुुभयो ।

यी विषयमा विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिइएको उहाँको भनाइ छ । “सरकार गठन, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण, सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र महाभियोगलगायत प्रशासनिक कार्य विधायिकाको कार्यक्षेत्रभित्र पर्छ । करको दर निर्धारण, सरकारी बजेट स्वीकृत, बजेटमाथि नियन्त्रण, आर्थिक कार्य जिम्मेवारीसँगै संविधान र कानुन संशोधन गर्ने कार्य ससदको भएको सङ्घीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताउनुभयो । बालबालिकाको संसद अवलोकनलाई व्यवस्थित गर्न संसद सचिवालयले संस्थागतरुपमा कार्य अघि बढाएको सहप्रवक्ता धमलाको भनाइ छ ।

विद्यार्थीबाट संसदको अवलोकन विगतमा दर्शकका रुपमा मात्र सीमित रहेकामा पछिल्लो समय संसद-नागरिक सम्बन्धको अभिन्न अङ्गका रुपमा ‘दर्शक-दीघ’ को व्यवस्था गरिएको उहाँले बताउनुभयो । यहीँबाट संसदको गतिविधि अवलोकन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । राष्ट्रियसभामा भने दर्शक दीर्घास्थल साँघुरो रहेकाले व्यवस्थापन चुनौती हुने भएपछि विद्यार्थीले अवलोकन गरेका छैनन् । सचिवालयले आगामी दिनमा दर्शक र विद्यार्थीको अवलोकनका लागि सहजता प्रदान गर्ने योजना बनाएको जनाएको छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै