अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था
अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ। यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो।
अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ। अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ। विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भन्नका पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ।
अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो। गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए।