डेङ्गीबाट बच्न सचेत रहन काठमाडौं महानगरको आग्रह – Nepalboli

डेङ्गीबाट बच्न सचेत रहन काठमाडौं महानगरको आग्रह

   २०८१ जेष्ठ २०, आईतवार  

गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो । ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताए । “डेङ्गी बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ”, उनले भने, “प्रत्येक वडामा नियमित रुपमा सरसफाइको काम भइरहेको छ ।”

डेङ्गीबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताए । सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ ।

स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन् ।

आवश्यक परे महानगरले डेङ्गी नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ । “बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्”, उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै