सरकारले सत्तारूढ दलसँग परामर्श नगरी बजेट आयो- एमाले अध्यक्ष ओली
सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
शनिबार संसद् भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी पनि गरे ।
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औंल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे ।
उनले सरकारले प्रतुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए । उनले यो बजेटलाई समर्थन गर्ने र पारित पनि गर्ने बताउँदै तर त्यसमा भएका कमीकमजोरीमा भने प्रश्न उठाउन सांसदहरुलाई निर्देशनसमेत दिएका छन्। उनले बजेटमा भएका कुनै पनि कमीकमजोरी औंल्याउन हुँदैन भन्ने मान्यता नरहेको तथा हिजो र आजको बजेटमा स्थानीय, प्रदेशमा के कति परिवर्तन भयो भन्ने कुरा ख्याल गर्नुपर्ने बताए।
उनले भने, ‘बजेटमा रहेको कुनैपनि कमजोरी औल्याउनै हुँदैन भन्ने होइन। बजेटमा रहेको कमी माननियज्यूहरूले आफ्नो क्षेत्र र जिल्लामा प्रदेशमा हिजोको र आजको के कमीकमजोरी छ। के हुनुपर्थ्यो के अझै घट्योरु यस्ता कुराहरुमा छलफलमा प्रश्न उठाउन सक्नुहुन्छ।’ बजेटमाथि छलफल गरेर पारित गर्नुपर्ने उनको भनाइ छ।
उनले थपे, ‘आफ्नो क्षेत्रको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको आकार नघटेको स्थितीमा आयोजनाको लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के होरु नयाँ ठूलो राष्ट्रिय आयोजना अघि बढाउँदैछ कि त्यो हेर्नुपर्छ नत्र एउटालाई अनुकुल अर्कालाई प्रतिकुल छ भने त्यो कमीकमजोरी भयो भन्ने निष्कर्ष निकाल्नुपर्छ।’