देउवाले नेपाल, यादव र ठाकुरसँग निवासमै बोलाएर गरे छलफल – Nepalboli

देउवाले नेपाल, यादव र ठाकुरसँग निवासमै बोलाएर गरे छलफल

   १६ जेष्ठ २०८१, बुधबार  

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता पक्षकासहित तीन दलका नेतालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग देउवाले छलफल गरेका हुन् ।

मधेस प्रदेशको सरकारको विषयमा छलफल गर्न नेताहरू जुटेको आकलन गरिएको छ । मधेस सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए । त्यहाँ नयाँ सरकार गठनको पहल चलिरहेको छ ।

संघमा पनि कांग्रेसले जसपा नेपाल तथा लोसपा लगायतका दललाई समेटेर विपक्षी दलको बैठक राख्दै आएको छ । एकीकृत समाजवादी भने सत्ता गठबन्धनमै छ । यद्यपि, सत्ता गठबन्धनप्रति बेलाबेलामा अध्यक्ष नेपालको असन्तुष्टि सार्वजनिक हुने गरेको छ ।

यसले गर्दा संघमै नयाँ सरकार बनाउने कसरत देउवाले गरिरहेको हुनसक्ने कतिपयको आकलन छ । बैठकपछि नेताहरु कुनै प्रतिक्रिया नदिइ बाहिरिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै