बिहीबारदेखि सुरु हुँदै श्रमाधान रोजगार मेला, प्रधानमन्त्रीले उद्घाटन गर्ने
आगामी बिहीबारदेखि ‘श्रमाधान रोजगार मेला’ सुरु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगरदेखि मेलाको सुरुवात गर्ने भएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ । मेला देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ ।
प्रत्येक प्रदेशमा दुईरदुई दिन सञ्चालन हुनेछ । मेलाको सम्पूर्ण तयारी भएको मन्त्रालयका प्रवक्ता एवम् सह सचिव गोविन्द प्रसाद रिजालले बताए । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबिचको साझेदारीलाई प्रवर्द्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ ।
कोशी प्रदेशमा सञ्चालन हुने श्रमाधान रोजगार मेलामा करिब ५०० युवाले रोजगारी पाउने नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । मेलाको बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।
जेठ १७ गते कोशी प्रदेशबाट सुरु हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।