संसदीय छानबिन समितिको ‘टीओआर’लाई औपचारिकता दिन कार्यदलको बैठक जारी – Nepalboli

संसदीय छानबिन समितिको ‘टीओआर’लाई औपचारिकता दिन कार्यदलको बैठक जारी

   २०८१ जेष्ठ १५, मंगलवार  

संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) लाई औपचारिकता दिन कार्यदलको बैठक जारी छ । टीओआरबारे सोमबार नै नेताहरूबीच अनौपचारिक सहमति भइसकेको छ ।कार्यदलको बैठक अहिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कांग्रेसका नेताद्वय जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेका नेता महेश बर्तौला र रास्वपाका नेता शिशिर खनाल सहभागी छन् ।

बालुवाटारमा सोमबार व्यक्तिको नाम वा पद नलेख्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले संसदीय समिति कति सदस्य र अवधिको हुने भन्ने विषयमा पनि सहमति भएको बताए ।

‘अहिले हामीले जुन सहमति गरेका छौँ । यसमा कुनै व्यक्ति अथवा पदको नाम लेख्ने भन्दा पनि सहकारीको रकम जहाँजहाँ गएको छ । कानुन र गैरकानुनी रुपले कसरी गएको छ, हेर्ने र त्यसमा संलग्न मानिस जोसुकै होस् । उसका बारेमा छलफल हुन सक्ने, उसका बारेमा छानबिन हुनसक्ने, अनुसन्धान हुनसक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी सहमतिमा पुगेका छौँ’, मंगलबार कांग्रेसको संसदीय दलको बैठकपछि लेखकले भने ।

यसअघि संसदीय समिति गठनको सैद्धान्तिक सहमति भइसकेको थियो । त्यसको कार्यादेश टुंग्याउन दलहरूले कार्यदल गठन गरेका थिए । तर, कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको नाम लेख्नै पर्ने अडान लिँदै आएको थियो । तर सत्ता पक्षले भने लामिछानेको नाम नलेख्ने विषयलाई आफ्नो ‘बटमलाइन’ बनाएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै