आज सम्ममा ६४ प्रतिशत बजेट खर्च, ६ खर्ब ३५ अर्ब बजेट बाँकी – Nepalboli

आज सम्ममा ६४ प्रतिशत बजेट खर्च, ६ खर्ब ३५ अर्ब बजेट बाँकी

   २०८१ जेष्ठ १५, मंगलवार  

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट भाषण हुने दिनसम्म चालू वर्षको कूल बजेटको करिब ६४ प्रतिशतमात्रै खर्च भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने दिनसम्ममा चालू आर्थिक वर्ष २०८०/८१ को बजेट खर्च ६३.७२ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षको लागि कूल बजेट १७ खर्ब ५१ अर्ब रुपैयाँ छुट्याइएको थियो । यो बजेटबाट चालू आर्थिक वर्षको जेठ १४ गते सम्ममा ११ खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ। जसअनुसार कूल बजेटबाट ६ खर्ब ३५ अर्ब रुपैयाँ खर्च हुनै बाँकी रहेको छ। चालू वर्षमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर जेठ १४ गतेसम्म ८ खर्ब ६३ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। आजसम्मको तथ्यांक अनुसार ६० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको सरकारले अबको डेढ महिनामा बाँकी ४० प्रतिशतको लक्ष्य हासिल गर्न नसक्ने देखिएको छ।

कूल बजेटबाट सरकारले अहिलेसम्ममा ७ खर्ब ८५ खर्ब रुपैयाँ चालू खर्च गरेको छ भने पुँजीगत खर्च (विकास खर्च) १ खर्ब २५ अर्ब रुपैयाँ मात्रै गरेको छ। यो बजेटमा सरकारले ३ खर्ब रुपैयाँ वित्तीय व्यवस्था गर्ने भएपनि खर्च नै कम भएका कारण अहिलेसम्म २ खर्ब ५ अर्ब मात्रै वित्तीय व्यवस्था भएको तथ्यांकले देखाएको छ।

विकास खर्च अहिलेसम्म ४१ प्रतिशतमा मात्रै पुगेको छ। विकास खर्चका लागि सरकारले ३ खर्बको बजेट विनियोज गरेको थियो। तर १ खर्ब २५ अर्ब रुपैयाँ मात्रै खर्च गरेको महालेखाको तथ्यांकले देखाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै