अत्यधिक गर्मीले तराईका जिल्लाहरुमा विद्यालयमा धमाधम विदा दिईदै – Nepalboli

अत्यधिक गर्मीले तराईका जिल्लाहरुमा विद्यालयमा धमाधम विदा दिईदै

   २०८१ जेष्ठ १४, सोमबार  

अत्यधिक गर्मी बढेपछि तराईका केही पालिकाहरूले विद्यालय विदा दिन थालेका छन् ।  कपिलवस्तु नगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कपिलवस्तु आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।

कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञवालीका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगै नगर शिक्षा समितिको आज बसेको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

गर्मीका कारण नगर क्षेत्र भित्र रहेको सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू जेठ १६ गते देखि १८ गते सम्म बिदा दिइएको उहाँको भनाइ छ । नगरले जेठ ७ गते देखि बिहानी कक्षा सञ्चालन गदै आइरहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका र वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय विदा दिएको छ । वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख तथा सूचना अधिकारी अरबिन्दलाल कर्णले अनुगमनको क्रममा बालबालिकालाई गर्मीका कारण समस्या भइरहेको पाइएपछि वर्षे विदा कटौती गर्ने गरी बुधबार, बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘यहाँ बिहान ७ बजेपछि पसिनाले भिज्ने अवस्था छ यस्तोमा बालबालिकालाई गाह्रो हुन्छ भनेर ३ दिनको विदा दिइएको छ ।’ मंगलबार सार्वजनिक विदा भएकोले बुधबारदेखि विदा दिने निर्णय भएको उनले बताए ।

त्यस्तैगरी नेपालगञ्ज उप–महानगरपालिकाले पनि तीन दिन विदा दिने निर्णय गरेको जनाएको छ । नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले त्यसपछि अवस्था अनुसार विदा दिने नदिने निर्णय हुने बताए । उनले भने, ‘अहिले तीन दिनको लागि विदा दिइएको छ । त्यसपछि तापक्रम कस्तो हुन्छ त्यसैको आधारमा विदा दिने नदिने निर्णय हुन्छ ।’

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै