नेपालगन्ज उपमहानगरभित्रका विद्यालय गर्मीका कारण विद्यालय पाँच दिन बन्द रहने – Nepalboli

नेपालगन्ज उपमहानगरभित्रका विद्यालय गर्मीका कारण विद्यालय पाँच दिन बन्द रहने

   २०८१ जेष्ठ १३, आईतवार  

तातो हावा ‘लु’ चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन् । तातो हावा लु र अत्यधिक तापक्रमका कारण बालबालिका बिरामी पर्न थालेपछि नेपालगन्जमा जेठ १५ गतेदेखि पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नेपालगन्ज उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाले दिनु भएको जानकारीअनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १९ गतेसम्म बन्द गर्ने निर्णय भएको गरिएको हो ।

उहाँले अत्यधिक गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेपछि मंगलबारदेखि शनिबारसम्म सबै विद्यालय बन्द गर्न सूचना प्रकाशित गरिएको बताउनुभयो ।

अत्यधिक गर्मीका कारण बालबालिकालाई वान्ता हुने, टाउको दुख्ने, ज्वरो आउनेजस्तो समस्या देखिन थालेको जनाइएको छ । मौसमको अवस्था हेरेर गर्मी बिदा लम्बिन सक्ने पनि नेपालगन्ज उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ ।

गर्मी बढ्दै गएकाले जिल्लाका अन्य पालिकाले पनि बिदा दिने तयारी गरेका छन् । यसअघि बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर केही दिन विद्यालय बन्द गरिनु पर्ने अभिभावकको माग छ ।

चिकित्सकले गर्मीसँगै तातो हावा र लु चल्नेक्रम जारी रहेकाले दिउँसोको समय घरबाहिर हिँडडुल नगर्न तथा बालबालिकालाई पर्याप्त मात्रामा पानी खुवाउन अनुरोध गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै