नेपाल र चीनको बिचको टिपताला नाका पाँच वर्षपछि खुल्यो
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड १९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा पर्ने नेपाल तिब्बतको सिमाना टिपताला कोरोना महामारीपछि चीनले एकपक्षीय रुपमा बन्द गरेको थियो। नेपाल सरकारसहितका निकायबाट निरन्तर हुँदै आएको पहल र प्रयत्नपछि बल्ल नाका खुला भएको हो। टिपताला खुला भएसँगै शुक्रबार ३० जना नेपाली तिब्बतको रिउतर्फ गएका फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो।
अध्यक्ष लिम्बूका अनुसार ओलाङ्चुङगोला, याङ्मा लगायतका स्थानीय तिब्बत गएका हुन्। ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले व्यापारिक अभिप्रायले स्थानीयहरु तिब्बत गएका बताउनुभयो। वडाध्यक्ष शेर्पाकाअनुसार सात दिनको समय लिएर स्थानीय तिब्बतको रिउ गएका हुन्।