भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीमा सामुदायिक टेक्निकल इन्स्टिच्यूटको भवन निर्माण – Nepalboli

भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीमा सामुदायिक टेक्निकल इन्स्टिच्यूटको भवन निर्माण

   २०७९ श्रावण ३, मंगलवार  

भारत सरकारको अनुदान सहयोगमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ मा रहेको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नयां भवन निर्माण सम्पन्न भएको छ । मंगलवार भारतीय राजदूतावासका द्वितीय सचिव श्री प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख श्री कर्साङ लामाले नवनिर्मित शैक्षिक भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका छन ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेपाली रकम ४ करोड ४१ लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यो भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्को साझेदार संस्थाको रुपमा रहेको यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । त्यस्तै यस इन्स्टिच्यूटले काठमाडौ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ ।

यस इन्स्टिच्यूटमा २९२ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ३० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ सरोकारवालाहरुले जनाएका छन ।

२००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये सिन्धुली जिल्लाका ४ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै