कांग्रेसले संघ र प्रदेश निर्वाचनमा पनि तालमेल गर्ने, पार्टीको तीन ओटा समिति पनि गठन
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले आउँदो संघ र प्रदेशको निर्वाचनमा गठबन्धनसँग तालमेल गरेर जाने निर्णय गरेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
छैठौं दिनसम्म चलेको बैठकका निर्णयहरू सोमबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले भन्नुभयो, ‘‘आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमतको लक्ष्यका साथ गठबन्धन दलहरुसँग संवाद गर्दै चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।’’
“संविधानको कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण, न्यूनतम साझा धारणा निर्माण गर्दै जनताको जीवनस्तरमा गुणात्मक विकास हुनुपर्ने, कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ हो । संवादमार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ”, उहाँले भन्नुभयो ।
बैठकले स्थानीय निर्वाचनमा अवस्था र आवश्यकताको आधारमा गठबन्धनसहित भाग लिएको र त्यसको परिणाम सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ ।
बैठकबाट उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुभएको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन प्रतिवेदन र प्रवक्ता डा। महतले प्रस्तुत गर्नुभएको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसारको प्रतिवेदनलाई आवश्यक सुझावसहित अनुमोदन गरिएको छ ।
कांग्रेसले स्थानीय निर्वाचनमा सञ्चालन गरेको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान आगामी निर्वाचन अघि आगामी भदौ २ देखि २४ गतेसम्म पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
तीन समिति गठन
केन्द्रीय कार्य समितिको बैठकमा पार्टी विधान २०१७ संशोधनसहित प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले तोक्नुभए बमोजिम महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्ने निर्णय गरिएको छ । यसैगरी, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरिएको छ ।
यी समितिहरुलाई पार्टी सभापति देउवासँगको आवश्यक परामर्शमा पूर्णता दिइने निर्णय भएको डा महतले बताउनुभयो ।
यसैगरी, भ्रातृ तथा शुभेच्छुक सङ्गठन सम्बन्धमा पार्टीको विधान बमोजिम आदिवासी जनजाति संघ, थारू र खेलकुद संघलाई मान्यता प्रदान गरिएको छ । पूर्णता दिन बाँकी रहेका भ्रातृ संगठनहरुलाई साउन मसान्तभित्र गठन गर्ने र पूर्णता दिइने जानकारी प्रवक्ता डा महतले दिनुभयो ।
विगतमा विशेष परिस्थितिमा संविधानको रक्षा गर्न बनेको वर्तमान सरकारले एक वर्ष पूरा गरेको र यसले संविधानलाई सही मार्गमा ल्याउँदै स्थानीय निर्वाचन सम्पन्न गर्नुका साथै विभिन्न राजनीतिक चुनौती पार गर्दै सही मार्गमा ल्याएको निष्कर्ष कांग्रेसको छ ।