१५ बैशाखको उपनिर्वाचन : इलाम-२ मा २० जनाको उम्मेदवारी दर्ता – Nepalboli

१५ बैशाखको उपनिर्वाचन : इलाम-२ मा २० जनाको उम्मेदवारी दर्ता

   २०८० चैत्र २४, शनिबार  

वैशाख १५ मा हुन लागेको उप निर्वाचनका लागि इलाम २ मा नेकपा (एमाले), नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका २० उम्मेद्वारले उम्मेदवारी दर्ता गराएका छन्। पञ्चेबाजासहित विभिन्न तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका दलले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि इलाम २ मा जितेको नेकपा (एमाले) को तर्फबाट सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता भएको छ। सुहाङको उम्मेदवारी दर्ता गराउन पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले नेता हिकमतकुमार कार्की, एमाले केन्द्रीय सदस्य रामबहादुर राना, एमाले जिल्ला अध्यक्ष तथा सांसद महेश बस्नेतसहित एमालेका अन्य नेता तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएको थियो। पञ्चेबाजासहित निस्किएको जुलुस निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो।

अघिल्लो निर्वाचनमा पनि एमालेसँग पराजित बनेको नेपाली कांग्रेसले इलाम २ मा डम्बरबहादुर खड्कालाई अघि सारेको छ। बाजागाजा, पञ्चकन्या र जाराजुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुग्नु भएका कांग्रेसका जिल्ला सभापति खड्काले आफ्नो उम्मेदवारी दर्तापछि जित आफ्नो हुने दाबी गर्नुभयो। ‘अहिले अरु दलका उम्मेद्वार भन्दा म सिनियर छु, सबै नागरिकका दुःख सुखमा साथ दिएको छु, त्यही कारणले पनि यसपटक खारिएको मान्छेलाई इलाम २ का जनताले जिताउनेछन्’, खड्काले भन्नुभयो।

एमाले र कांग्रेसपछि चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारिता क्षेत्रमा रहेका आफ्ना उम्मेद्वार मिलनकुमार योङहाङ लिम्बूको उम्मेदवारी दर्ता गराएको छ। रास्वपाका केन्द्रीय उपसभापति तथा श्रममन्त्री डीपी अर्यालयसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बूले मनोनयन दर्तापछि अन्य दलबाट दिक्क भएका जनताले आफूलाई मत दिने विश्वास व्यक्त गर्नुभयो। ‘पुराना दलबाट थाकेका जनताले अब नयाँ दललाई विश्वास गर्नेछन्’, लिम्बूले भन्नुभयो, ‘पहिचान पक्षधरको मुद्दामा रास्वपाले पनि एउटा एजेण्डा बनाएको छ। परिचानका पक्षमा रास्वपा लड्नेछ।’

यस्तै कोशी प्रदेश नाम खारेजीको माग गर्दै किराँत लिम्बूवान क्षेत्रका लागि पहिचान पक्षधर आफूलाई स्थापित गराउँदै डकेन्द्रसिंह लिम्बूले पनि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनुभएको छ। इलाम २ का लागि जनमत पार्टीका प्रेमदिप लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेशनलका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट जीतबहादुर राई, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौलाले उम्मेदवारी दर्ता गराउनुभएको छ।

यसैगरी जयवन्त विक्रम साह राष्ट्रिय मुक्ति आन्दोलन, अर्जुनकुमार साही स्वतन्त्र, केशवकुमार चापागाईं स्वतन्त्र, गणेशबहादुर चौहान राप्रपा नेपाल, दिपेश बोहोरा स्वतन्त्र, योगेन्द्र गुरुङ स्वतन्त्र, राज वश्याल स्वतन्त्र, रेशमबहादुर सुनार नेपाली जनता दलले उम्मेद्वारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै