भ्रातृ तथा शुभेच्छुक संस्था थप निर्माण गर्ने प्रस्ताव – Nepalboli

भ्रातृ तथा शुभेच्छुक संस्था थप निर्माण गर्ने प्रस्ताव

   २७ असार २०७९, सोमबार  

सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा थप भ्रातृ तथा शुभेच्छुक सङ्गठन निर्माण गर्ने प्रस्ताव गरिएको छ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवन केन्द्र्रीय कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा सो प्रस्ताव पेश भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह निर्वाचनको समीक्षा एवम् आगामी दिनमा निर्वाचन केन्द्रित भएर पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो । बैठकमा गत स्थानीय तह निर्वाचन परिचालन समितिले गरेको काम र प्रचार प्रसार समितिले गरेको कामको प्रतिवेदन पेश एवम् छलफल भएको छ ।

उहाँले भन्नुभयो, “बैठकको मूल उद्देश्य भनेकै शुभेच्छुक, भ्रातृ सङ्गठनहरुलाई गति दिनका लागि सबै क्षेत्रलाई समेटेर त्यहाँ सङ्गठन निर्माण गर्न प्रस्ताव गएको छ, त्यो अगाडि बढ्छ । दोस्रो, स्थानीय तहको निर्वाचनको परिणामको समीक्षाको आधारमा हाम्रो के अनुभव रह्यो र कहाँ–कहाँ के के कमी कमजोरी रह्यो, गठबन्धनमा कहाँ राम्रो भयो कहाँ समस्या आयो, यसका आधारमा आउने दिनमा यो गठबन्धनलाई पनि कसरी लाने र पार्टी पनि कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल भयो ।”

बैठकले त्यसको निष्कर्ष निकाल्ने भन्नुहुँदै उहाँले पार्टीलाई चुस्तदुरुस्त ढङ्गबाट निर्वाचन अभियानलाई अघि बढाउने र समसामयिक राष्ट्रिय विषयवस्तुमाथि बैठकमा छलफल भएको बताउनुभयो ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको सोमबारको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकका प्रस्तावहरु र प्रवक्ता डा महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रसार–प्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्य समितिको बैठक मंगलबार पुनः दिउँसो १ बजे बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै