बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन – Nepalboli

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

   २०८० फाल्गुन २७, आईतवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो ।

“बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोहीअनुसार काम गर्नुपर्नेछ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगति सम्बन्धमा मासिक रूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि नियमित कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न निर्देशन दिनुभयो।

सम्पूर्ण कर्मचारीतन्त्रका लागि प्रधानमन्त्री कार्यालय उदाहरणका रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले विद्यमान प्रगति सन्तोषजनक मान्न नसकिने स्पष्ट पार्नुभयो। “तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ। त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखा थप क्रियाशील भएर जानु जरुरी छ।”

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरेर आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिनुभयो। उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कार्यालय आफ्ना कार्यसम्पादनमा गति दिन र आर्थिक वर्षको अन्त्यमा कम्तीमा ८० प्रतिशतसम्म प्रगति हुनेगरी काम गर्न निर्देशन गर्नुभयो।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै