फागुन ३० गते विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । आइतबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकमा विश्वासको मत र राष्ट्रिय सभाको अध्यक्षमा उक्त दलका तर्फबाट उम्मेदवारीबारे छलफल पनि भएको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको चुनाव हुन लागेकाले ह्विप जारी गर्दै सांसदलाई तत्काल उपत्यकाबाहिर नजान आग्रह गरिएको छ । सत्ता गठबन्धन परिवर्तन भएपछि प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी गर्नुभएको छ भने मङ्गलबार राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुने कार्यतालिका छ ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारमा झक्कुप्रसाद सुवेदी र नारायण दाहालको चर्चा छ । हाल राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल रहनुभएको छ । राष्ट्रिय सभा उपाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई दिने सहमति भइसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार भने आज आइतबार टुङ्गो लगाउने भएको छ । माओवादी केन्द्रको संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले पार्टी पदाधिकारी बैठक बसेर उम्मेदवारबारे निर्णय गर्ने भएको हो ।