आठ लाख नगदसहित चार जना पक्राउ
मकवानपुर प्रहरीले करिब आठ लाख भारतीय र नेपाली रुपियाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एआर २९९१ को भारतीय कारबाट चार जनालाई आइतबार बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक भारतको बिहार राज्य सीतामणि थाना–९ भुभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार सोही स्थानका वर्ष ३० का चन्द्रबाबु, वर्ष ३७ का अशोक राय र सुनसरी जिल्ला कोशी गाउँपालिका बस्ने वर्ष ३२ का निजाम मिया रहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
प्रहरीलाई शङ्का लागी कार रोकेर जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई ल्याएको भारतीय रुपिया पाँच सयको नोट एक हजार ४२ थानको पाँचलाख २१ हजार, दुई सयको नोट ९३ थानको भा।रु। १८ हजार छ सय०, सयको नोट ९३ थान भा।रु। नौ हजार तीन सय, ५० को नोट चार थान भा।रु। दुई सय गरी जम्मा भा।रु। पाँच लाख ४९ हजार एक सय रुपियाँ उनीहरूबाट बरामद भएको छ । यस्तै नेपाली रुपियाँ एक हजार दरका नोट १५० थान, पाँच दरका नोट दुई थान गरी नेपाली रुपियाँ दुई लाख पचास हजार रुपियाँ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चार जनालाई कारसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ ।