सरकारमा सहभागी हुन अन्य राजनीतिक दललाई एमालेको आग्रह
सत्तारुढ प्रमुख घटक नेकपा एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको छ । शुक्रबार बिहान पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुक विद्यमान सङ्कटलाई समाधान गर्न अनुकूलता प्रदान गरेको निष्कर्ष निकाल्दै त्यसलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै पार्टीका महासचिव शङ्कर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको पाँच राजनीतिक दलहरू सम्मिलित सरकारमा अन्य राजनीतिक दलहरूलाई साथ र समर्थन गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको बताउनुभयो ।
बैठकले जनतामा रहेको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उचो बनाउने, विकास र समृद्धिका कामहरूलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।
नयाँ सत्ता समीकरण मुलुकको स्वाधीनता, स्वाभिमान, राष्ट्रियतको प्रश्नमा, विकास र समृद्धिको प्रश्नमा, सामाजिक न्यायको प्रश्नमा फलदायी हुने विश्वास पनि एमालेले लिएको छ । महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउने हिसाबले सरकारलाई पार्टीको तर्फबाट सकारात्मक योगदान पुर्याउन पार्टीको तर्फबाट सक्दो योगदान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।