चार प्रदेशमा हिउँ पर्ने सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली (एउटा मौसम प्रणाली) को आंशिक प्रभाव जारी छ। जसका कारण आज (बिहीबार) राति कोसी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
मौसमविद्का अनुसार सम्बन्धित क्षेत्रमा २६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको र बाँकी सफा रहेको अवस्थालाई आंशिक बदली भनिन्छ । यसैगरी सम्बन्धित क्षेत्रमा ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको र बाँकी खुला रहेको अवस्थालाई साधारणतया बदली भनिन्छ।
मौसमविद्का अनुसार धेरैजसो आकाश सफा र २५ प्रतिशतजति मात्र बादल लागेको अवस्थालाई मौसम मुख्यतया सफा भनिन्छ । मौसम महाशाखाका अनुसार आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।