२० सदस्यीय प्रचण्ड मन्त्रिपरिषद्
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को विस्तार तथा कार्यविभाजन गर्नुभएको छ । नयाँ राजनीतिक समीकरण भएसँगै मन्त्रिपरिषद् विस्तार कार्यविभाजन भएको हो । मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएका छन् ।
चार दलीय गठबन्धनको ८ बुँदे सहमतिपत्रमा जनता समाजवादी पार्टीले हस्ताक्षर गरे पनि बिस्तारित मन्त्री परिषदमा सहभागी भइसकेको छैन । तर ८ बुँदे सहमतिमा हस्ताक्षर नगरेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भने दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।
सत्ता समीकरण बदलिएपछि विस्तार भएको प्रचण्ड मन्त्रिपरिषद्मा चार जना महिला मन्त्री बन्नुभएको छ ।
एमालेबाट दुई, माओवादी र रास्वपा बाट एक/एक जना महिलाले मन्त्री बन्ने अवसर पाउनुभएको हो । बुधबार २० सदस्यीय मन्त्रिपरिषद् विस्तार हुँदा तीन जना उपप्रधानमन्त्री बन्नुभएको छ । तीन उपप्रधानमन्त्रीमा एमालेका रघुवीर महासेठ पहिलो वरियतामा हुनुहुन्छ । त्यसपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई राखिएको छ । एमालेले उपप्रधानसहित आठ वटा मन्त्रालय पाएको छ । माओवादीले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय राखेको छ । रास्वपाले उपप्रधान तथा गृहमन्त्रीसहित चार मन्त्रालय लिँदा नेकपा एसले भने दुई मन्त्रालय पाएको छ ।