नयाँ समीकरणले प्रदेश सरकारहरु संकटमा

केन्द्रमा सत्ता समिकरण परिर्वतन भएसंगै प्रदेशहरुमा त्यसको असर पर्न थालेका छन । कर्णाली प्रदेशमा काग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिएका हुन । उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गरेका छन ।
सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्तीमा परेका छन । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका हुन । मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका छन ।
गण्डकी सरकारबाट पनि माओवादीका मन्त्री बर्खास्तीमा परेका छन । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीलाई बर्खास्त गरिएको छ । सोमबार सङ्घमा सत्ता गठबन्धन परिवर्तन भएपछि प्रदेशमा मङ्गलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार बिहान मन्त्रिमण्डल पुनर्गठन गरेका छन ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुम्जालीलाई हटाएर ती मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पाण्डेले आफैँले राखेका छन ।
सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरबदल भएपछि लुम्बिनी प्रदेश सरकार समेत सङ्कटमा परेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सम्मिलित नयाँ गठबन्धन बनेसँगै लुम्बिनी प्रदेश सरकार पनि सङ्कटमा परेको हो।
माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको समर्थनमा चौधरी मुख्यमन्त्री बनेका छन ।
नेकपा (एमाले) सहित सत्ता सहयात्री पार्टी माओवादी, जसपा पार्टी सहभागी भएको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी नेतृत्वको सरकार सङ्कटमा परेको हो।लुम्बिनीमा मुख्यमन्त्री चौधरीलाई आफ्नो पद बचाई राख्नका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ।तर माओवादी, जसपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री चौधरीको पक्षमा ३९ जना संसद्को मात्र समर्थन हुने हुँदा सरकार अल्पमतमा पर्ने अवस्था छ।
अहिले नयाँ गठबन्धनमा एमाले, माओवादी र जसपा मात्रै रहेकाले लुम्बिनी प्रदेशमा सरकार गठनका लागि स्पष्ट बहुमत पुग्ने अवस्था छैन। जसले गर्दा अन्य साना दललाई समेट्नुपर्ने अवस्था देखिन्छ।
बागमती प्रदेशमा समेत सत्ता समीकरणको चर्चा सुरु भएको छ । केन्द्रमा नयाँ समीकरण बन्दा यस प्रदेशमा नयाँ समीकरणका लागि सकस देखिएको छ । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारलाई केन्द्रमा भएको समीकरण अनुसार नै यस प्रदेशमा बहुमत पुर्याउन समस्या पर्ने सम्भावना रहेको छ ।