परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै – Nepalboli

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

   २० फाल्गुन २०८०, आईतवार  

परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउद यही फागुन २२ देखि २३ गतेसम्म फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने भएका छन्। संयुक्त राष्ट्रसंघीय अल्पविकसित राष्ट्रहरूको दोस्रो ‘फ्युचर फोरम’मा सहभागी हुन उनी आज राति त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।

परराष्ट्रमन्त्रीले अल्पविकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय समूहको अध्यक्षका रूपमा फागुन २२ गते मञ्चको प्रारम्भिक सत्रलाई सम्बोधन गर्नेछन्। साथै उनले ‘संरचनागत रूपान्तरण तथा नवप्रवर्तनका लागि रणनीतिक तीव्रता’ विषयक मन्त्रिस्तरीय संवादमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

अल्पविकसित देशहरूको दिगो विकासका निम्ति प्रविधि, ‘डिजिटाइजेसन’ एवं नवप्रवर्तनका माध्यमबाट संरचनागत रूपान्तरणमा सघाउन अल्पविकसित राष्ट्र तथा भूपरिवेष्टित एवं साना टापु राष्ट्रका लागि राष्ट्रसंघीय प्रतिनिधिको कार्यालय र फिनल्यान्ड सरकारले संयुक्त रूपमा उक्त बैठकको आयोजना गरेका हुन्।

बैठकका क्रममा परराष्ट्रमन्त्रीले फिनल्यान्डका परराष्ट्रमन्त्री एलिना भोल्टोनेनसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै