सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गो लगाउँ- प्रमुख सचेतक – Nepalboli

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक एक हप्ताभित्र टुङ्गो लगाउँ- प्रमुख सचेतक

   २०८० फाल्गुन ११, शुक्रबार  

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुङ्गोमा पुर्‍याउन कानुन, न्याय तथा मानव अधिकार समितिलाई आग्रह गर्नुभएको छ । सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा उहाँले पीडित, नागरिक समाज र सञ्चार माध्यामको दबाबलाई समेत ख्याल गरेर सो विधेयक एक पटक छलफल गरेर आगामी फागुन १९ गते भित्र टुङ्गो लगाई सक्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

प्रमुख सचेतक लेखकले सो विधेयकमा एक/दुई विषय मात्रै सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्ने र नभए त्यसलाई संसदको पूर्ण हाउसले टुङ्गो लगाउने गरी संसदमा पठाउन ढिलाई गर्न नहुने बताउनु भयो ।

‘‘यो पीडितहरुको पनि पीडाको पनि विषय छ । त्यसकारण म आज बडो गम्भीरतापूर्वक एउटा आग्रह गर्न चाहन्छु । अब एक काम के गरौैँ भने यो सङ्क्रपमणकालीन न्यायका बारेमा एउटा तिथिमिति तोकिदिउ । कति हुन्छ, कहिले हुन्छ ? एउटा तिथि तोकौं । त्यो मितिमा अहिलेसम्म हामीले जे जति छलफल भएँ, हामीले जे जति कामहरु गर्‍यौै, ती कामहरुका आधारमा हाम्रो सहमती हुन सक्ने कुरालाई अझै बल गरौं त्यो मितिसम्म । र सहमती नै गरौं त्यो दिनसम्म । त्यो दिन पनि बसेर सहमती गरौं ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘मलाई लाग्छ–धेरै कुरामा असहमति हुने कुरा देख्दिन म । एक दुई कुरामा हाम्रा बिचमा सहमति हुँदैन भने पनि अब हामीले पार्लियामेन्ट्री प्रोसेसलाई अगाडि बढाउनुको विकल्प देखिराखेको छैन मैले । त्यसो भएको हुनाले मैले आज अनुरोध गरेँ–एउटा मिति तोकौं । त्यो मिति आज ११ गते हो । त्यो मिति १५ गते पनि हुन सक्छ ।’’

उहाँले संसदीय प्रक्रियामा लगेर सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउने कुरामा अब ढिलाई गर्न नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘अलि बढि चाहियो भने पनि १८, १९ गतेभन्दा उता नजाने गरी मिति तोकौैं । यो एक हप्ता, ४ दिन, छ दिन जति हुन्छ । फेरि सहमतिको बल गरौं । र एक दिन बसेर अन्तिम सहमतिको प्रयास गरौं । एउटा, दुईवटा कुरामा सहमति गर्न बाँकि रह्यो भने त्यसलाई पूर्ण हाउसको प्रक्रियामा पठाई दिउँ । यसलाई हाउसमा पठाई दिउँ । हाउसमा पनि हाम्रो बिचमा छलफलको ठाउँ त रहन्छ नि । केही कुरा ती पनि छलफल गर्न सकिन्छ । एकदमै ढिला भयो ।’’

प्रमुख सचेतक लेखकले पीडितको पीडालाई सम्बोधन गर्न पनि सो विधेयक संसदीय समितिले टुङ्गोमा पुर्‍याउन ढिलाई गर्न नहुने बताउनु भयो ।

‘‘पीडितहरुले पनि प्रायजसो अब बैठकहरु गरेर यो ढिलो भयो । अब चाँडो ल्याउ, होइन भने आन्दोलन गर्छौं भनिराखेको स्थिति छ । सञ्चार माध्यमले पनि यसलाई ढिलो गर्ने कुरालाई राम्रो रुपमा लिइराखेको छैन ।,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘आम नागरिक समाज, आम नागरिकहरुको बिचमा पनि यो आयोचनाको विषय हुन थाल्यो । त्यसो भएको हुनाले अब यसलाई सहमति गरौैं, भएन भने प्रक्रियामा लगेर भएपनि कुनै एउटा मिति तोकेर यसलाई टुङ्ग्याइदिउँ भन्ने मेरो गम्भीरतापूर्वक आग्रह छ । आजै एउटा मिति तोकेर सङ्क्रमणकालीन न्याय टुङ्ग्याइदिऊँ भन्ने आग्रह छ ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै