जसपाले वहालवाला मन्त्रीलाई फिर्ता बोलाउदै, नयां मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुुझाइयो – Nepalboli

जसपाले वहालवाला मन्त्रीलाई फिर्ता बोलाउदै, नयां मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुुझाइयो

   २०७९ असार १७, शुक्रबार  

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम बुझाएका छन् । उनले नयाँ मन्त्रीको नाम बिहीवार प्रधानमन्त्री देउवालाई बुझाएका हुन् ।

गत सोमवार राति आफू निकट कार्यकारिणी समितिको बैठक बोलाएर मन्त्री हेरफेर गर्ने सम्पूर्ण अधिकार आफूलाई दिने निर्णय गराएपछि अध्यक्ष यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेट गरेका थिए।

अध्यक्ष यादवले सरकारमा रहेका आफ्ना पार्टीका सबै मन्त्रीहरू फिर्ता समेत बोलाइसकेको स्रोतको दावी छ ।

अध्यक्ष यादवले नयाँ मन्त्रीमा चर्चा बाहिरबाट पनि नामहरू समावेश गरेका छन् । स्रोतका अनुसार अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेष्ठको नाम सिफारिस गरेका छन्।

श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन्। उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो।

विभाजनको संघारमा पुगेको पार्टीमा आफ्नो पक्षमा बहुमत देखाउन अशोक राईको साथ र समर्थन आवश्यक रहेकाले गैर सांसद भए पनि पार्टी भित्रको समर्थन मिलाउन उनको नाम सिफारिस गरिएको स्रोतको दाबी छ ।

यस्तै नयाँ मन्त्रीका लागि दोस्रो नाम डा। सूर्य नारायण यादवको रहेको छ। सप्तरीबाट निर्वाचित डा यादवलाई रामसहाय यादवको स्थानमा वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ।

अध्यक्ष यादवको चुनावी क्षेत्र सप्तरीमा स्थानीय चुनावमा नराम्ररी हार व्यहोरेका अध्यक्ष यादवले प्रतिनिधि सभाको चुनावमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिस गरेको बताइएको छ ।

बालुवाटारमा बुझाइएको नयाँ मन्त्रीको नामावलीमा डा सुरेन्द्र यादवको पनि नाम छ। कृषि तथा पशुपालन मन्त्रीमा रहेका महेन्द्र राय यादवलाई हटाएर डा सुरेन्द्र यादवको नाम समावेश गरिएको छ। ओली सरकारमा भएको चर्चित सांसद अपहरण काण्डमा उनको नै अपहरण भएको थियो । पछिल्लो पटक डा।यादव केही समयको लागि स्वास्थ्य राज्य मन्त्री पनि भएका थिए।

मन्त्रीको नामावलीमा चौथो नाम मोहम्मद इस्तियाक राईको रहेको छ। रेणु यादवले सम्हालेको भौतिक निर्माण तथा यातायात मन्त्रालयमा इस्तियाक राईलाई सिफारिस गरिएको छ। पश्चिम तराईको प्रतिनिधि र मुस्लिम समुदायलाई खुशी पार्न राईको नाम सिफारिस गरिएको स्रोत बताउँछ । राई शुरू देखि नै डा बाबुराम भट्टराईको पक्षमा रहे पछि पार्टी विभाजनको योजना मत्थर पार्न उनको नाम राखिएको हो।

पार्टीबाट सर्वाधिक चर्चामा रहेका केही नामहरू जस्तै प्रदीप यादव, मृगेन्द्र यादव, रामबाबु यादव लगायत कसैको पनि नाम नयाँ मन्त्रीमा प्रस्तावित नगरिएको स्रोतको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै