नेता बुढाथोकीको निधनप्रति कांग्रेसद्वारा शोक प्रस्ताव पारित
नेपाली कांग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको मङ्गलबार बिहान बसेको आकस्मिक बैठकले नेता बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार बुढाथोकीको असामयिक निधन भएको हो ।
नेता बुढाथोकीको निधनप्रति कार्यसमितिको आकस्मिक बैडकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
यसैगरी, बैठकले माघ २३, २४ र २५ गते (तीन दिन) सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय पनि गरेको छ ।
मुख्य सचिव पौडेलका अनुसार माघ २४ गते बुधबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ । उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।