संसद्को तेस्रो अधिवेशन सुरु, कानुन निर्माणमा केन्द्रित हुन जरुरी रहेको सभामुखको भनाई – Nepalboli

संसद्को तेस्रो अधिवेशन सुरु, कानुन निर्माणमा केन्द्रित हुन जरुरी रहेको सभामुखको भनाई

   २०८० माघ २२, सोमबार  

सङ्घीय संसद्को तेस्रो अधिवेशन सुरु भएको छ । सोमबार अपराह्नबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर संसद बैठक सुुरु भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका थिए । त्यस पछि सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू समेत पढेर सुुनाएका थिए ।

यसैगरी, बैठकमा सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन समेत भएका छन । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल भएको छ ।

सभामुख – कानुन निर्माणमा केन्द्रित हुन जरुरी

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूले संसद्को चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानुन निर्माण गर्ने र संसदीय गतिविधिहरूलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताएका छन ।

सोमबारबाट सुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उनले सो कुरा बताएका छन । सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे ।

विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उहाँले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानुन निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै