सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सांसदसँग कानुन मन्त्रीको छलफल – Nepalboli

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सांसदसँग कानुन मन्त्रीको छलफल

   २०८० माघ २२, सोमबार  

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग छलफल गर्नुभएको छ । मन्त्री गुरुङले सोमबार कानुन, न्याय तथा मानव अधिकार समितिका सांसदहरूसँग अनौपचारिक रूपमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुङ्गोमा पुर्‍याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरूको बारेमा जानकारी गराउनुभएको थियो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै कानुन, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रस्तुत गर्नुभएको कसरतहरू सकारात्मक रहेको जानकारी दिनुभयो । उहाँले आफूहरूले पीडितमैत्री कानुन बनाउने कुरामा जोड दिएको पनि बताउनुभयो ।

सदस्य बर्तौलाले असहमतिका विषयहरूलाई टुङ्ग्याउने कार्ययोजना ल्याउनेगरी छलफल भएको जानकारी दिनुभयो । यो विषय टुङ्ग्याउनका लागि शीर्ष नेताहरूको तहमा पनि छलफल आवश्यक भएको भन्दै आधारभूत रूपमा एउटा तयारी गरेर अगाडि बढ्ने विषयमा कुरा भएको उहाँले बताउनुभयो ।

‘‘पीडितले न्याय पाउनुपर्छ । पीडितले न्याय नपाउनेगरी बनाउने कानुनको सान्दर्भिकता हुँदैन । त्यसकारण हाम्रो आजको छलफलमा पनि जोड के रह्यो भने सरकारको तर्फबाट पीडितमैत्री कानुन बनाउने कुरा सुनिश्चित होस् । त्यही बमोजिमका प्रावधानहरूको सुनिश्चितता गरियोस् । पीडितमैत्री कानुन निर्माण गर्ने पक्षमा असहमति भएका विषयलाई टुङ्ग्याउनेगरीको कार्ययोजना ल्याओस् भन्नेगरी छलफल भयो ।,’’ सदस्य बर्तौलाले भन्नुभयो, ‘‘नेता छलफल सकारात्मक भएको छ । निरन्तर छलफल गरेर अगाडि बढाउने भनेर निस्किएका छौँ । शीर्षस्थ नेताहरूका बिचमा पनि छलफल चलाउनुपर्ने हुन्छ । आधारभूत रूपमा एउटा तयारी गरेर अगाडि बढ्ने र छिटो टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ । सरकार यदि सहमतिका साथ पीडितमैत्री कानुन बनाउनका लागि तयार भयो भने यसले गति प्रदान गर्छ । टुङ्गिएर अगाडि बढ्छ भन्ने लाग्छ ।’’

यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य सन्तोष परियारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा असहमतिका बुँदाहरूमाथि छलफल भएको बताउनुभयो । उहाँले सरकारका तर्फबाट मन्त्रीले केही विकल्पहरू प्रस्तुत गर्नुभएको र पीडितमैत्री कानुन बनाउने सन्दर्भमा राम्रो छलफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मूलभूत रूपमा चारवटा बुँदाहरू जो टुङ्ग्याउन सकेका थिएनौँ समितिमा भने त्यसमा आज बढी कुरा भयो । मन्त्रालयका तर्फबाट केही विकल्प, केही प्रस्तावहरू आएका छन् । पीडितमैत्री कसरी बनाउन सकिन्छ, न्याय सम्पादन फराकिलो कसरी बनाउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ ।’’

उहाँले विषय नटुङ्गिएकाले भोलि पनि पुनः छलफल हुने जानकारी दिनुभयो ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै