कोशीमा भागबन्डा मिले पछि सरकार विस्तारको तयारी
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको साढे तीन महिनापछि सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् । मन्त्रीको नाम फाइनल भइसकेका कारण सम्भव भए आजै सरकार विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।
सरकारलाई पूर्णता दिन चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । कांग्रेसबाट दबाब बढेका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ । कांग्रेसबाट प्रदीपकुमार सुनुवारको नाम फाइनल भएको छ । उनी संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहबाट रामकुमार खत्री मन्त्री बन्ने लगभग पक्का जस्तै छ । कोइराला समूहकै इन्दिरा थापालाई राज्यमन्त्री बनाउने तयारी छ ।
सिटौला समूह र सरकार गठनका लागि पार्टी भित्र विद्रोह गर्दा साथ दिएका अन्य सांसदलाई पनि चित्त बुझाउनुपर्ने भएका कारण राज्यमन्त्रीको संख्या थप गर्ने सम्भावना छ ।
नेकपा माओवादी केन्द्रबाट दुई जना मन्त्री बन्ने भएका छन् । उदयपुरका नारायण बुर्जामगरको नाम फाइनल भएको छ । उनी दोस्रो पटक निर्वाचित प्रदेश सांसद हुन् । माओवादी केन्द्रले संखुवासभाबाट निर्वाचित सांसद राजेन्द्र कार्कीलाई पनि सरकारमा पठाउने निर्णय गरेको एक नेताले बताए ।
माओवादीबाट गणेश उप्रेती पर्यटन मन्त्री छन् । कार्की र बुर्जामगर सहभागी भए माओवादीका तीन मन्त्री हुनेछन् । मुख्यमन्त्री केदार कार्कीले यसअघि एक जना मात्रै मन्त्री नियुक्त गर्ने बताएका थिए । तर राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्की पराजित भएपछि माओवादीलाई चित्त बुझाउन कार्की दुई वटा मन्त्रालय दिन तयार भएका हुन् ।