विपद्का घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु – Nepalboli

विपद्का घटनामा परेर मधेसमा ११ महिनामा ५०१ जनाको मृत्यु

   १७ असार २०७९, शुक्रबार  

मधेस प्रदेशका विभिन्न जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विपद्का घटनामा परेर ५०१ जनाको मृत्यु भएको छ ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका एक हजार ७०१ विपद्का घटनामा १८२ पुरुष, १०८ महिला र १४३ बालबालिकाको ज्यान गएको हो । सो अवधिमा भएका विपद्का घटनामा परेर २१० महिला, १३७ पुरुष र ६१ बालबालिका घाइते भएका थिए । यस्तै एक पुरुष, दुई महिला र पाँच बालबालिका बेपत्ता भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।

सो अवधिमा मधेसका जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिकाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई लाख २९ हजार ८७८ चालकमाथि कारबाही गरिएको कार्कीले जानकारी दिनुभयो । यस क्रममा रु २० करोड २७ लाख राजश्व सङ्कलन भएको छ ।

यस्तै सो अवधिमा विभिन्न जिल्लाबाट अवैध हतियारसहित ५७ भारतीय र ४० नेपाली नागरिक पक्राउ परेका थिए । उनीहरुबाट १५ थान हतियार बरामद भएको प्रवक्ता कार्कीले बताउनुभयो । प्रहरीले विभिन्न मुद्दामा फरार रहेका एक हजार ३६७ जनालाई पक्राउ गरेको छ ।

पछिल्लो समय लागुऔषध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले सो अवधिमा मधेसका विभिन्न जिल्लाबाट गाजा तीन हजार १३१ किलो, ब्राउन सुगर १६४ ग्राम, चरेश ५१ किलो, हेरोइन ९५ ग्राम र डाइलेक्सी डिसी २१३ लिटर लागुऔषधसहित एक हजार १२० पुरुष र २१ महिलालाई पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै