सेनाले सञ्चालन गरेका विकास आयोजनाको समिकक्षा बैठकमा उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षामन्त्रालय र नेपाल सेना अन्तर्गत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामध्ये अधिकांश आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभएको छ । आज रक्षामन्त्रालयमा बसेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक समीक्षा बैठकमा उहाँले अधिकांश योजनाको प्रगति सन्तोषजनक रहेको र काम हुन नसकेका कार्यक्रमलाई चालु आबको बाँकी अवधिमा थप मेहनत गरी लक्ष्य हासिल गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिनुभयो।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माणलाई गुणस्तरीय ढङ्गले निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित प्राविधिकले स्थलगत अनुगमन र निरीक्षण बढाउनुपर्ने बताउनुभयो।
उहाँले आयोजनामा प्रयोग भइरहेका निर्माण सामग्रीको नियमित परीक्षण गरेर गुणस्तरीय देखिएका निर्माण सामग्रीको प्रयोगलाई मात्र स्वीकृति दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले अन्तर–निकाय समन्वय सुदृढ गरी मन्त्रालय अन्तर्गतका विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै अघि बढ्नसमेत निर्देशन दिनुभयो।
उपप्रधानमन्त्री खड्काले नेपाली सेनालाई जिम्मेवारी दिइएका कतिपय सडक आयोजनामा न्यून बजेटका कारण नेपाली सेनाको जनशक्ति र उपकरणको क्षमताभन्दा कम उपयोग भइरहेकोले रणनीतिक महत्त्वका सडक तथा विकास आयोजना पर्याप्त बजेट व्यवस्था गरी नेपाली सेनाको क्षमता र उपकरणको पूर्ण उपयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले समीक्षा बैठकलाई औपचारिकता निर्वाह गर्ने कार्यमा मात्र सीमित नराखी विकास आयोजनाको कार्यान्वयनमा रहेका बाधा व्यवधानलाई सम्बोधन गर्ने गरी सञ्चालन गर्न र समस्याको निराकरणका लागि आवश्यक र कार्यान्वयन योग्य उपाय पहिल्याई आयोजना कार्यान्वयनलाई गति दिन आवश्यक रहेको कुरामा जोड दिनुभयो।