पश्चिमी वायुको प्रभाव- आइतबार वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आइतबारबाट देशका अधिकांश स्थानमा मौसम बदली हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपात हुनेछ । सुदूरपश्चिम प्रदेशका साथै कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बागमती र कोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ।
साथै सोमबार साँझबाट क्रमशः मौसममा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम प्रणालीको असरले तापक्रम घट्दै गएको छ। जसले चिसो बढ्ने सम्भावना रहेको छ। वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत क्षेत्रको जनजीवनमा असर पर्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।