अधिवेशन अवधिभर राजधानी नछोड्न सांसदलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछोड्न सांसदलाई निर्देशन दिएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन दिएको हो । विगतमा संसदको बैठक तथा समिति बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
उहाँले नेपाली कांग्रेसका सांसद निरन्तर रुपले सभा र समितिमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताउनुभयो। उहाँले संसदको अधिवेशन चल्दासम्म नेपाली कांग्रेसका सांसदलाई राजधानी नछोड्न निर्देशन दिइएको बताउनुभयो । यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो।
काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशीलतापूर्वक समिति र सभाको गतिविधिमा भाग लिन पनि सांसदलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो।
बैठकले सभा र समितिको बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ। बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई चाँडोभन्दा चाँडो प्रस्तुत गर्न सरकारलाई आग्रह गरेको छ। त्यसैगरी कांग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दललाई अपील पनि गरेको छ।