नेपाली कांग्रेसको शेखर कोईराला समुहको छुटै बैठक,शुक्रवार पुन बस्ने – Nepalboli

नेपाली कांग्रेसको शेखर कोईराला समुहको छुटै बैठक,शुक्रवार पुन बस्ने

   १६ असार २०७९, बिहीबार  

नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षको बैठक विहिवार बसेको छ । राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार अपरान्ह बसेको बैठक शुक्रबार दिउँसो २ बजेसम्मलाई स्थगित भएको छ।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले बिहीबारको बैठकमा देशको समसामयिक राजनीति, पाँच दलीय गठबन्धन, खस्किँदो आर्थिक अवस्था र आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको जानकारी दिएका छन्।

यो बैठकमा चाणक्यले किन चन्द्र गुप्त बनाएका रहेछन् भन्ने विषयबाट आफूहरुले प्रेरणा लिएको उनले बताए। ‘युवा साथीहरुले राखेको कुरा चाणक्यले किन चन्द्र गुप्त बनाएका रैछन भन्ने हामीले प्रेरणा लिएका छौँ,’ उनले बैठकपछि सञ्चारकर्मीसँग भने।

को को थिए बैठकमा

बैठकमा केन्द्रीय सदस्य डा शेखर कोइराला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, उद्योगमन्त्री समेत रहेका नेता दिलेन्द्र बडू, सरिता प्रसाई, गोविन्द पोखरेल र चन्द भण्डारी सहभागी थिए।

यस्तै रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि बैठकमा उपस्थित थिए। बैठकमा पुगेका डा महत सुरु भएको केहीबेरमै निस्किएका थिए।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई कोइराला पक्षमा तीव्र असन्तुष्टि छ। कोइराला पक्षले १४ औँ महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी निर्णय गरिरहेको भन्दै दबाब दिन यो भेला गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै