हिमाली क्षेत्रमा हिमपात, अन्य ठाउमा हल्का वर्षा – Nepalboli

हिमाली क्षेत्रमा हिमपात, अन्य ठाउमा हल्का वर्षा

   २०८० माघ १८, बिहीबार  

पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले तीन वटा प्रदेशमा हल्का वर्षा भइरहेको छ। मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्का वर्षा भइरहेको छ। आज रातिसम्म नै यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
यस्तै, सुदूरपश्चिम र बागमती प्रदेशका एक दुई स्थानमा समेत छिटफुट वर्षाको सम्भावना छ। उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावका कारण अहिले देशभरको मौसममा बदली भएको छ। अहिले तीन प्रदेशमा हल्का वर्षा भइरहेको छ। राति सुदूरपश्चिम र बागमती प्रदेशमा पनि हल्का पानी पर्ने सम्भावना छ।”

उच्च हिमाली क्षेत्रमा हिमपात समेत भएको छ। भोलिदेखि भने मौसममा सुधार आउने उहाँको भनाइ छ।

उपत्यकामा छिटफुट वर्षाको सम्भावना

काठमाडौँ उपत्यकाको आकाशमा यतिखेर बादल मडारिएको छ। अहिले पानी नपरेपनि केही बेरपछि उपत्यकाका एक–दुई स्थानमा छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीको भनाइ छ। पश्चिमी वायुको प्रभाव त्यति धेरै नभएकाले ठुलो पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ।

भोलिदेखि तराई क्षेत्रमा लागेको बाक्लो तुवाँलो हट्दै गएर घाम लाग्ने सम्भावना रहेको उहाँको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै