हिउँदे वर्षासँगै भूकम्प पीडितहरुको जनजीवन थप कष्टकर
लामो प्रतिक्षा पछि विहिवार विहान देखि हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हिउदे बर्ष सुुरु भएको छ । तर हिमपातले गएको कार्तिक १७ गतेको भूकम्पले प्रभावित जिल्लाहरुमा पीडितको थप पिडा महसुस गरेको छ । उनीहरुको दैनिक जनजीवन थप कष्टकर बनेको छ । भूकम्पले घर भत्काएपछि अहिले केही पीडितहरू अस्थायी आवासमा र केही पीडितहरू त्रिपालमै बस्दै आएका छन् ।
तर बिहानैदेखि भएको हिमपातले उनीहरू लाई त्याहा बस्न पनि गाहे परेको छ । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ छेपारे गाउँकी भूकम्प पीडित देवकली पुन मगरले रातीदेखि पानी पर्न थालेपछि चिन्ता बढ्न थालेको बताए । चिसो असाध्यै बढेको छ, उनले भनिन, बालबच्चा र ज्येष्ठ नागरिकहरूलाई बाहिर निस्कनै गाह्रो भइरहेको छ ।ू उनका अनुसार घरको नियमित कामसँगै अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । टिनले छाएका अस्थायी टहरा र त्रिपालको भरमा पानीसँगै हिमपातको सामना गर्न कठिनाइ भइरहेको उनको भनाई भनाइ छ ।
आठविसकोट नगरपालिका १४ ज्यामिरकोट गाउँका विजय मल्लले जनजीवन थप कष्टकर बनेको बताए । उनका अनुसार हिउँदे वर्षासँगैको हिमपातले भूकम्प पीडितहरूको बसाइँलाई प्रत्यक्ष प्रभाव परेको छ । मल्लले अस्थायी टहरा निर्माणको काम पुरा नभएको र चर्किएकै घरमा बस्नुपर्ने बाध्यता रहेको र त्यसमा हिमपातले गप पिडा दिएको सुनाए ।
पानी पर्न थालेपछि चर्किएको घरबाट पानी चुहिन थालेको छ, उनले भने, यही घर पनि ढल्ने होकी भन्ने पिर बढेको छ, बाहिर निस्कने अवस्था पनि छैन । भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम नै पुरा गर्न नसकेको भन्दै उहाँले सरकार समक्ष गुनासो गर्नुभयो ।
सानीभेरी गाउँपालिका ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले हिमपात र पानी परेको कारण सर्वसाधारणको दैनिकीमा प्रभाव परेको बताए । उनले चिसोका कारण भूकम्प पीडितहरूको जीवन प्रभावित परेको उल्लेख गरे । लेकभरि हिउँ परेको र पानी पर्न नरोकिएकोले त्रिपाल र टहरामा बसेका पीडितहरूलाई थप जोखिम भएको उनको भनाइ छ । कतिपय पीडितहरू चर्किएकै घरमा रहेकोले चुहिने पानीको कारण घर ढल्नसक्ने जोखिम समेत रहेको वडा अध्यक्ष बुढाथोकीले बताए ।