गैरआवासीय नेपाली संघको समानान्तर संस्था यूएनडीओ को दर्ता
गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो ।
यूएनडीओ सोनाम लामाको अध्यक्षतामा गठन भएको थियो । लामा एनआरएनएका पूर्वउपाध्यक्ष हुन् । अघिल्लो पटक २०७८ चैतको एनआरएनए निर्वाचनमा विवाद भएपछि लामाले नेपाली मूलका विदेशी नागरिक मात्रै रहने गरी यूएनडीओ दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।
तर, परराष्ट्रले उक्त संस्था दर्ता गर्न नमानेपछि लामाले गत १५ साउन २०८० मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लगत्तै सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ दर्ता गर्न आदेश दिएको थियो । नयाँ संस्था दर्ता भएपछि गैरआवासीय नेपालीहरुको वैधानिक रुपमै दुईवटा संस्था खुलेका छन् ।