शान्ति, सुशासन, विकास र समृद्धि हासिल गरे मात्र सहिदको सच्चा सम्मान हुनेछ- राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले लक्षित गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै सहिदको सम्मान हुने बताएका छन् ।
सहिद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।
महान् शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको सुनिश्चितता गरेको बताए ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सहिदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै सहिदहरुले दिएको बलिदानका कदर हुने बताए ।
अमर सहिदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीर सहिदहरुको सपना र आकांक्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ संकल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।