एकीकृत समाजवादीद्धारा उमेर हद हटाइयो, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने – Nepalboli

एकीकृत समाजवादीद्धारा उमेर हद हटाइयो, सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने

   २०८० माघ १५, सोमबार  

सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा सोमबार सकिएको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षे उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् बैठकले पारित गरेको हो। यस बैठकले केन्द्रदेखि तल्लो तहसम्मका कमिटीका पदाधिकारी र सदस्यहरू सबै प्रत्यक्ष निर्वाचित हुने व्यवस्थासहित विधान पनि संशोधन गरेको छ।

पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालले अब केन्द्रदेखि तल्लो तहसम्मका सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनहरूबाट प्रत्यक्ष निर्वाचित हुने बताए।

समाजवादीले अब केन्द्रीय कमिटी १९९ जनाको हुने निर्णय पनि गरेकोछ। समाजवादीले केन्द्रीय पदाधिकारीको १९ सदस्यीय हुने पनि जानकारी दिएका छन्। समाजवादीले प्रदेश कमिटी ७५ देखि ९९ सदस्यीय बनाउने गरी विधानमा व्यवस्था गरेको छ। प्रदेश कमिटी पदाधिकारी ७ सदस्यीय हुने गरी विधानमा उल्लेख गरिएको छ।

अब समाजवादीको जिल्ला कमिटी ५५ सदस्यीय हुने भएको छ। जिल्लाका पदाधिकारी पनि ७ जनाको कायम गरिएको छ।

समाजवादीको दोस्रो केन्द्रीय परिषद बैठक यही आइतबार र सोमबार काठमाडौंमा बसेको थियो। बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्मका उपलब्धि र प्रगतिको फेहरिस्त पनि बैठकमा पेश गरेका थिए।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै