एकीकृत समाजवादीले भन्यो- एमाले गठबन्धन फुटाउन उद्यत छ
नेकपा (एकीकृत समाजवादी) ले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अत्यन्तै नकारात्मक ढङ्गले चलिरहेको टिप्पणी गरेको छ । आइतबार सुरू भएको पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको दस्तावेजमा यस्तो टिप्पणी गरिएको छ । “अहिले प्रमुख प्रतिपक्षमा रहेका दलहरूले जेसुकै र जस्तोसुकै विषयमा पनि विरोध गर्ने गरेका छन् । सत्ताच्युत भएर प्रमुख प्रतिपक्षमा पुगेको एमाले अत्यन्तै गैरजिम्मेवार ढङ्गले नकारात्मकरूपमा भूमिका निर्वाह गरिरहेको छ,” अध्यक्ष नेपालले भने ।
उनले एमाले वर्तमान सत्तारूढ गठबन्धन फुटाउन उद्यत रहेको पनि बताए । “गठबन्धन फुटाउन उद्यत छ एमाले । पुनरुत्थानवादी, प्रतिगामी र पश्चगामी शक्तिहरूका यस्ता क्रियाकलापहरूले र प्रतिपक्षका गतिविधिहरूबाट मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोजेको आभास हुन्छ,” उनले भने ।
उनले सरकार अझै तदारुकताका साथ काममा लाग्नुपर्ने आवश्यकता औंल्याए । “यसबीचमा भ्रष्टाचार र कमिसनतन्त्रका अनेकन् काण्डहरू उधिन्ने काम भएका छन् । सरकार कारबाही गर्ने प्रयासमा छ । तर, सरकार अझै प्रभावकारीरूपमा अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ,” उनले भने ।
सरकार काम गर्नका लागि प्रयासरत रहेपनि आर्थिक विकास, सामाजिक न्याय र सुशासनमा त्यत्ति काम भएको महसुस आफूलाई नभएको उनले बताए । गठबन्धन सरकारका अगाडि धेरै काम गर्नुपर्ने चुनौती रहेको औंल्याउँदै उनले भनेका छन्, “गठबन्धनको न्यूनतम साझा कार्यक्रमअनुसार अगाडि बढ्नुपर्छ,” उनले भने ।
यस्तै उनले सुशासनमा जोड दिएर काम गर्नुपर्ने र विस्तृत शान्ति सम्झौताका बाँकी काम टड्कारोरूपमा टुङ्ग्याउनुपर्ने उनले बताए ।