हुम्लामा पुस्तक नपुुगेपछि वैकल्पिक बिधिबाट पठन पाठन – Nepalboli

हुम्लामा पुस्तक नपुुगेपछि वैकल्पिक बिधिबाट पठन पाठन

   १५ असार २०७९, बुधबार  

पाठ्य पुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठन पाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाई सुचारु राख्न वैकल्पिक बिधि अपनाएका हुन् ।

सिमकोट गाउँपालिकाको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले इन्टरनेट चलाउने शिक्षकहरुले पाठ्यक्रमबाट कक्षा अनुुसारका बिषयबस्तु डाउनलोड गरेर पढाई सुचारु रहेको बताउनुभयो । यसरी डाउनलोड गरिएको पाठको बिषयबस्तुलाई शिक्षकले ह्वाईट बोर्डमा लेख्ने र विधार्थीहरुले सार्ने कार्य गर्दै आउनु भएको छ । यसैगरी गृहकार्य पनि बोर्डमा लेखेर दिने गरिएको छ । उहाँले हालसम्म पुस्तक विद्यालयमा नपुगेपछि पढाई सुरु भएयता यसरी नै विद्यालयमा पठन पाठन हुने गरेको बताउनुभयो ।

विद्यालयमा हालसम्म एक जना विधार्थीको हातमा पनि पुस्तक पुगेको छैन् । यता सिमकोट कै कैलाश मावि डाँडाफयाका प्रधानाध्यपक मेज बुढाले पनि आफ्नो विद्यालयमा यसरी नै पठन पाठन भईरहेको बताउनुभयो । उहाँले बिशेष गरि चार, सात र नौ कक्षाहरुमा यसरी शिक्षकहरुले पठन पाठन गरिरहेको बताउनुभयो । उहाँले कक्षा पाँचसम्म भने पुराना पुस्तकले पढाई सुचारु राखिएको बताउनुभयो ।

यता बालमन्दिर माविमा पनि शिक्षकहरु बैकल्पिक बिधि अपनाएर नै पठन पाठन गर्दै आउनुभएको छ । यी तीन वटै विद्यालयमा हालसम्म पुस्तक पुगेको छैन । विद्यालयहरु आफ्नै श्रोतबाट इन्टरनेटको ब्यवस्था समेत गर्नु परेको छ । सिमकोट गाउँपालिकामा २५ वटा मावि र आधारभुत विद्यालयहरु रहेका छन् ।

यता नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा पनि इन्टरनेट पहुँच भएका विद्यालयहरुले माथिकै बिधि अपनाएको बुद्ध आधारभुत विद्यालयमा प्रधानाध्यापक धर्मनन्द लामाले बताउनुभयो । उहाँका अनुसार आधारभुत विद्यालयमा भने पुराना सिमित भएका पुस्तकबाट पढाई सुचारु भई रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै